हैन! आहुतीलाई बहुलाएर गए भन्ने प्रचण्डको दिमाग त ठीक त छ नि?

Published: March 21, 2018 | 2:27 pm | बुधबार, चैत्र ७, २०७४ | ४७२४ पटक पढिएको

 

 

५६औं जातिय   विभेद उन्मुलन दिवसको अवसरमा प्रचण्डले भनेछन्, ‘एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, प्रचण्डले आहुतीप्रति कटाक्ष गरेछन् ।

हैन, आहुतीलाई बहुलाएर गए भन्ने प्रचण्डको दिमाग त ठीक त छ नि?

आहुती जस्ता व्यक्ति जसले नेपाली समाज र कम्युनिस्ट विचारधारा को सुक्ष्मरुपमा अध्यन र खरो बहस गर्नसक्ने, नेतृत्व प्रचण्डले जन्माएको जस्तो हो झैँ गर्ने प्रचण्डको मपाईत्वँ र दम्भ नै वास्तविरुपमा जातिय अहंकार, सामन्ती प्रवृत्ति, ठालु सोंचको उपज हो।

राज्य, शत्ता र शक्तिको विभेद, अत्याचार, अन्याय प्रति प्रश्न राख्नसक्ने व्यक्ति, नेतृत्वहरुलाई हिजो सामन्ती राणा र राजामहाराजाहरुले गोली ठोक्ने, झुण्डिएर मार्ने, अनेकन प्रपञ्च रचेर जेलमा सडाउने गरेकै हो। अहिले लोकतान्त्रिक गणतन्त्र भनिने नेपालमा त्यसको पनि समानता र न्यायमा निम्ति लडेर आएका महान जनयुद्ध गरेको भनिने पार्टीको नेतृत्वकर्ता प्रचण्डले दलित समुदायको एउटा प्रखर व्यक्तित्व प्रति यसरी निम्न स्तरमा गिरेर हड्डी नभाको जिब्रो चलाएछन् ।

विश्वभक्त दुलाल “आहुती” प्रचण्ड संगै सती जान चाहेनन्, सकेनन्। आहुतीको विवेकले प्रचण्ड संगै सती गएर नेतृत्व बन्ने लोभ राखेन, जे छ “आहुती” आहुती हुनु मै ठीक छ भन्ने ठान्यो न कि प्रचण्डको खेताला । यस‌ैको झोकमा प्रचण्डले विगत केही दिनयता आहुतीको बौद्धिकताको हुमर्त लिने सामन्ती प्रवृति देखाई रहेकै छन् । हिजोका राजामहाराजा, राणाहरुले जस्तो सिधै जेल कोच्ने, गोली ठोक्ने, र झुण्डाउने अवस्था छैन, तर अहिले पनि कुनै न कुनै रुपमा यस्ताखाले प्रवृत्तिहरु देखिन्छन् छन्,। त्यसैको अवशेष अचेल माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मा देखिन्छ। सकेसम्म आहुती जस्ताको बौद्धिकतालाई कहिले धेरै पढ्यो भने दिमाग बिग्रन्छ भन्ने त कहिले बहुलाएर गयो भन्ने प्रचण्डको यो सोच कुनै सामन्ती राजामहाराजाहरुको भन्दा कमको होइन।

अझ हाँसो लाग्दो विषय त छ के भने, सिंहदरबार  कब्जामार्फत दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन चाहेको तर असफल भएको भनेर बोल्दिएछन्। आहुती जस्तालाई बहुला भनेपछि बाँकी रहेका सद्धेदर्शकहरुले यसो भन्दा पक्कै ताली मारेका थिए होलान्। तर के अहिले नेपालमा भएको कुनैपनि संवैधानिक उच्चपदहरुमा दलितहरु परेका छन्? राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, ७ वटा प्रदेशमा बनेका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभामुखहरुमा कोही दलित छन्? मन्त्रीमण्डलमा कतिजना दलित मन्त्री छन्? यति धेरै राजनीतिक रुपमा व्यवस्था हुने संवैधानिक पदहरूमा किन कोही दलित समुदायका परेनन्? के प्रचण्डले केही प्रयास गरे? अहिले कसको अगाडी के नकचरो पारेर प्रचण्ड ठीक्क पर्न खोज्दैछन्?

 

४७२५ Total Views ३ Views Today

Comments