सामाजिक अभियन्ता महावीर पुनले ६ महिनामा २ करोड रुपैयाँ उठाए

Published: February 9, 2017 | 4:40 pm | बिहिबार, माघ २७, २०७३ | ९ ५०० पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा लागेका सामाजिक अभियन्ता महावीर पुनले ६ महिनामा २ करोड रुपैयाँ उठाएका छन्।

26072016094522Mahabir-Pun_2-1000x0

आविष्कार केन्द्रका लागि ५० करोड रुपैयाँ उठाउने उनको लक्ष्य छ।

आफ्नो योजनामा सरकारले चासो नदेखाएको र सहयोग नगरेको भन्दै उनले गत साउनदेखि रकम संकलनका लागि ‘महादान अभियान’ सुरु गरेका थिए। तर, छ महिनाको अवधिमा २ करोड रुपैयाँ अर्थात् चार प्रतिशत मात्र रकम संकलन भएको छ।

‘पचास करोड उठाउन सकिन्छ त?’

पुनको आत्मविश्वस बलियो छ, ‘सकिन्छ। किन नसक्नु?’

कसरी?

यो प्रश्नपछि मात्रै पुन खुल्दै गए, ‘अहिलेसम्म जति उठेको छ, त्यो स्वस्फुर्त रूपमा प्राप्त भएको सहयोग हो।’

अभियान चलाउने भने पनि यो छ महिनासम्म उनले कसैलाई पनि सहयोगका लागि आग्रह गरेका रहेनछन्, न कुनै पत्राचार नै। अभियान सुरू गर्दा उनले गरेको सार्वजनिक आव्हानपछि स्वफुर्त रूपमा प्राप्त चन्दा नै अहिलेसम्म दुई करोड पुगेको उनले बताए।

उनले प्राप्त गरेको रकममध्ये धेरैचाहिँ विदेशबाटै संकलन भएको रहेछ।

उनलाई सहयोग गर्न हङकङ र अरब मुलुकका नेपाली सबैभन्दा अगाडि छन्। मलेसिया जापान र कोरियाबाट पनि सहयोग र सद्भाव पाइरहेका छन्। अमेरिका र युरोपबाट भने सोचेजस्तो सहयोग प्राप्त भएको छैन। त्यहाँ उनले त्यति धेरै सद्भाव बटुल्न सकेनन्। तर,  सोच्दै नसोचेको देशबाट पनि आफूलाई सम्पर्क गर्ने र सहयोग गर्ने मानिसहरु पाउँदा उनी दङ्ग छन्।

‘ताइवानमा पनि नेपाली बसोबास गर्छन् भन्ने मैले कल्पनै गरेको थिइनँ,’ पुनले भने, ‘त्यहाँ रहेका नेपालीले समेत सम्पर्क गरेर केही पैसा पठाइसकेका छन्।’

अहिलेसम्म सबैभन्दा धेरै एकमुष्ट सहयोग भने प्रवासी नेपाली संघ (मोना), हङकङले गरेको छ। उनीहरूले एकमुष्ट ५७ लाख ४९ हजार २ सय ९६ रूपैयाँ सहयोग गरेका छन्।

यता ५०, एक सय, पाँच सय र एक हजार रूपैयाँ जम्मा गरिदिनेहरू पनि उत्तिकै छन्। यस्तो थोरै रकम इ-सेवा मार्फत् उनको खातामा जम्मा गर्ने गरेका छन्। यो सबै रकम हिमालयन र एभरेष्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ। मंगलबार साँझ पुनसँग कुरा गर्दा ती दुई बैंकमा दुई करोड रूपैयाँ जम्मा भइसकेको थियो।

अब भने एक वर्षभित्रमा पचास करोड रूपैयाँ संकलन गर्न उनले अभियानलाई व्यापक बनाउन सुरु गरेका छन्।

‘अब हामी घरघरमा जान्छौं, ढोका-ढोकामा पुग्छौं,’ पुनले भने, ‘विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु।’

अभियानमा सहयोग गर्नका लागि उद्यमी-व्यवसायी लगायतलाई पत्राचार गर्ने पनि उनले तयारी गर्दैछन्।

‘आजभोलि नै हामी पत्राचार गर्न सुरु गर्छौं, ज-जसले दिनुहुन्छ हामी स्वीकार गर्छौं,’ उनले भने।

यो अभियानका दौरान उनलाई सबैभन्दा धेरै सोधिएको प्रश्न हो, ‘यत्ति धेरै पैसा उठिसक्यो कहिले खर्च गर्ने?’

‘अहिले एक रूपैंया पनि खर्च गर्ने होइन,’ पुन भन्छन्, ‘जहिले पचास करोड उठ्छ त्यही दिन मात्र खर्च गर्ने हो।’

यो पचास करोड जलविद्युतमा लगानी गर्ने उनको योजना छ। जलविद्युतबाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना उनले बनाएका छन्।

पैसा सदुपयोग नहुने हो कि भनेर आशंका गर्नेहरू पनि उत्तिकै छन्।

‘यो पनि कानै चिरेको जोगी हो भन्ने पनि धेरै छन्,’ उनलाई शंका गर्नेहरू भन्दारहेछन्, ‘कति पैसा उठेपछि हराउने हो।’

उनले थपे, ‘अहिलेसम्म मैले गरेको काम हेरेर नै मलाई अरूले विश्वास गर्ने हो। शंका गर्ने त मानवीय स्वभाव नै हो। त्यो हुनु पनि पर्छ।’

उनले अहिलेसम्म संकलन भएको सबै पैसा दिने दाताको नाम केही दिनमा नै वेबसाइटमा राख्ने तयारी गरिरहेका छन्।

चार वर्ष भित्रमा हाइड्रो बनाएर आविष्कार केन्द्रको काम शुरु गर्ने योजना पुनले बनाएका छन्।

९ ५०१ Total Views ३ Views Today

Comments