कुन चाँहि काम “ली क्वान र महाथिर” को झल्को दिनेगरी गरेका छन् ओलीले ?

Published: June 29, 2018 | 12:08 am | शुक्रबार, असार १५, २०७५ | ९ ८१२ पटक पढिएको

 

 

 

डोलु आले मगर,

 

 

तत्कालीन दुई कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमत सहित सत्ताको बागडोर सम्हाल्दै गर्दा  एकजना हनुमान भक्तले प्रधानमन्त्री केपी शर्मा ओली उर्फलाई सिंगापुरको दिवंगत प्रधानमन्त्री लि क्वान यू र मलेसियाको वर्तमान ९३ वर्षिय प्रधानमन्त्री मुहम्मद महाथिर संग तुलना गरेका थिए। भक्त र भक्तेहरुको कुरा छाँडौ। गरि साध्य नै भएन। किनकि ओली विकासप्रेमी खुंखार राष्ट्रवादी नेता हुन् जसको भक्तिगान र भक्तजनहरुमा कमि हुने कुरै भएन।

 

 

लि क्वान यूले संसारको एक अँध्यारो कुना भनेर भनिने सिंगापुरलाई करिब पांच दशकमा भिमकाय विकास छाडेर अस्ताए।

 

 

अर्कोतिर वर्तमान मलेसियाको विकास निर्माणको जननी भनेर परिचित मुहम्मद महाथिर जिवनको उत्तरार्द्धमा व्यक्तिगत जिवन आराम पुर्व व्यतित गर्दै थिए। तर देशमा व्याप्त भ्रष्टाचार बढ्दै गएपछि करिब शताब्दी नजिक उमेर पुगेका महाथिरको लागि यो असह्य बन्यो र उनले आफैले मलजल गरेको पार्टी र पार्टी बाट प्रधाानमन्त्रीको लागि उम्मेदवार बनेका पुर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध लड्ने अठोट गरे।

 

 

गत मे महिनामा भएको आम निर्वाचनमा छुट्टै पार्टी गठन गरेर उनि चुनाव लडे। आफैले मलजल गरेर हुर्काएको पार्टीलाई हार खुलाए र महाथिर विश्वकै सबैभन्दा पाका प्रधानमन्त्री बने ।

 

निर्वाचन पश्चात उनि प्रधानमन्त्री बनेर सत्ता सम्हालेको पचास दिन बित्न पाएको छैन तर एक पछी अर्को गर्दै देशको अर्थतन्त्र सुधार्न तल्लिन देखिन्छन् । भ्रष्टाचार विरुद्ध उनी सुरु देखि नै आक्रामक देखिन्छन् । उनले देशको अर्थतन्त्र सुधार गर्न मुहान देखि नै सफा गर्ने अभियान सुरु गरेका छन्। संसदहरुको तलबभत्तामा कटौती गरे र सत्तरी करोड डलर घोटाला गरि भ्रष्टाचार गरेको आरोप खेप्दै आएका पुर्व प्रधानमन्त्री नजिब रजाक माथि छानविन गर्न नजिब र उनको श्रीमतीलाई देश छाड्न प्रतिबन्ध लगायो। अनुसन्धान अगाडी बढ्यो र अहिले सम्म उनको घरपरिसर बाट सत्ताइस करोड तीस लाख डलर बराबरको सामान अनुसन्धानको क्रममा जफत गरेको समाचार पढ्न पाएका छौं। हेक्का रहोस महाथिरले सत्ता सम्हालेको सय दिन पुरा भएको छैन ।

 

 

 

ठीक त्यहि ली क्वान र महाथिर संग तुलना वा चित्रित गरिंदै गरेको हाम्रो देशको प्रधानमन्त्री ओलीले गत मे महिना तिर नै सय दिनको हनिमुन पुरा गरेको हुनुपर्छ। बलियो कम्युनिष्ट पार्टी, दुइ तिहाइ संसद्को बहुमत र कमजोर प्रतिपक्ष भएको अवस्थाको सरकार। तर अहिले सम्म सरकारको कामकारबाही के छ ? सरकारको कुन चाहिं कामले देशलाई राहत दिने छनक देखिएको छ ? ओलीले बारम्बार भन्ने गर्छन् “भ्रष्टाचार सैह्य हुँदैन” तर अहिले सम्म कति भ्रष्टाचारी माथि अनुसन्धान हुँदै छ र कतिलाइ कारबाही भयो ? अवैध कालो धनलाई सेतो बनाउन बाटो खुल्ला गर्ने अनि भ्रष्टाचार सैह्य हुँदैन भन्ने यो कस्तो मजाक ? मितव्ययिताको चिल्ला चिफ्ला कुरा गर्ने तर पार्टी एकताको भोजभतेर पनि सरकारी कार्यालय भित्र गर्ने, करोडौं पर्ने मर्सिडिज कार खरिद गर्नुपर्ने, पुर्व विशिष्ट पदाधिकारी हरुको नाममा राज्यलाई भार पर्नेगरी सेवा सुविधा बढाउनुपर्ने यो कस्तो मितव्ययिता हो ?

 

 

गृहमन्त्रालय बाट केहि कदमहरु चालेको देखिन्छ जस्तो यातायात सिन्डिकेट तोड्न, सुन तस्कर छानविन र काम नगर्ने ठेकेदारहरु माथि कारबाही।

 

 

तर यातायात सिन्डिकेट तोडियो भन्ने समाचार पढेको एक डेढ महिना बित्दा-नबित्दै यातायात सिन्डिकेट पुनः दोहोरिन सक्ने अखबारहरु छापिएका छन्। भौतिक निर्माण तथा यातायात मन्त्रि रघुवीर महासेठ नै यातायात सिण्डिकेटको पक्षमा भन्ने आशयको समाचारहरु पनि नआएका हैन र त्यसमा शंका गर्ने थप आधार बन्यो यातायात विभागको निर्देशकलाई सरुवा गरेर।

 

 

सुन तस्कर छानविन काण्ड पनि सानो माछा अर्थात केहि प्रहरी अधिकृत र ब्यापारी सम्म पुगेर त्यत्तिकै सेलाउने छाँटकाँट देखिन्छ। ठुला माछा सम्म यो छानविन हुने विश्वास गर्न सकिन्न। अरु देशमा प्रधानमन्त्री-राष्ट्रपति माथि पनि कुनै अवरोध बिना छानबिन हुन्छ। तर हाम्रो देशमा आफ्नो नेता तथा कार्यकर्ता सकेसम्म जोगाउने खेल हुन्छ।

 

 

गृहमन्त्री राम बहादुर थापाले कामको जिम्मा लिएर समयमै काम नसक्ने ठेकेदार हरुमाथि कारबाही गर्ने कुरा गरे, त्यसको लागि त्यस्ता ठेकेदारहरुको नामावली संकलन पनि गरे तर भौतिक निर्माण तथा यातायात मन्त्रि रघुवीर महासेठले कार्यक्षेत्र को विवाद झिके। अहिले आफ्नै निर्णयबाट सरकार पछि हट्दै भन्ने खबरहरू छापिएका छन् ।

 

 

एनजीओ/आइएनजीओहरुको आर्थिक हिसाबकिताब छानविन गर्ने कुरा गरे। तर त्यस बाट पनि गृहमन्त्री पछी हटे। कारण के हो त् ? पुर्व एमाले हालको नेकपाको ठुलो जमात यहि एनजीओ/आइएनजीओहरु बाट पालित पोषित छन्। अनि किन कारबाही गर्ने? किन छानविन गर्ने ? आफ्नै कार्यकर्ताको दानापानी बन्द हुने अवश्था देखेपछी कतैबाट निर्देशन आयो उनि पछाडी हटे!

 

 

सामान्य प्रशासन मन्त्रि लालुबाबू पण्डितले मन्त्रालय इन्ट्री गर्ने बित्तिकै कर्मचारी सुधारको विषयमा निक्कै चर्का कुरा गरे। थाङ्गने कर्मचारीहरुलाई तह लगाउने कुरा गरे। तर विडम्बना आफ्नै पार्टी निकट कर्चाचारी संगठनको धारे हात उठेपछि उनि स्वयं थर्कमान भए। होस् खुलेको छ कि नाइँ अचेल चर्का कुरा सुनिने छाड्यो।

 

 

संचार मन्त्रि गोकुल बास्कोटाको कुरै छाडौं।स्वयं अन्तर्वाताको क्रममा टिभी लाइभमै सफेद झुट बोले। पत्रकारले प्रमाण देखाइदिए नेता न परे तरकार गरेर पत्रकारलाई थर्काए । त्यहि झोंकमा नेपाल टेलिभिजन बाट प्रसारित “सिधा कुरा” कार्यक्रम नै बन्द गराइदिए। त्यसबापत प्रधानमन्त्री ओलीले बास्कोटालाइ सरकारको प्रवक्ता बनाएर पुरस्कृत गरिदियो।

 

 

अरु संसारकै शक्तिशाली भनिने देशका राष्ट्रपति प्रधानमन्त्रीहरु आफै छाता ओढेर हिंडन सक्छ, कफी पोखिएको भुँइ आफै सफा गर्न सक्छ। तर हाम्रो देशको युवा पर्यटन मन्त्री रविन्द्र अधिकारी नेपाली सेनालाई छाता ओढाउन लगाउँछन्।

 

 

श्रम मन्त्रि गोकर्ण विष्टको केहि सर्हानिय प्रयास भएपनि ठोस उपलब्धि केहि देखिएको छैन। उधोग तथा वाणिज्य मन्त्री मातृका यादवको पनि सुरुमा चर्का कुरा सुनिएपनि अचेल यो गर्छु त्यो गर्छु भन्ने कुरा सुनिन छाड्यो। बाँकि अरु मन्त्रीहरु कहाँ के गर्दै छन् ?अत्तोपत्तो छैन।

 

 

विकासको ठुलै कुरा छ, पानी जहाज देखि सुलसुले रेल। अन्तर्राष्ट्रिय विमानस्थल देखि लिएर घर घरमा ग्यासको पाइपलाइन। यस्तो बखतमा सानातिना कुरामा के अल्झिनु?

 

 

भारत भ्रमणमा गए पानी जहाज र रेल मागे। चाइना भ्रमणमा गए रेल ल्याइदेउ भने। अरे बा! माग्न पनि लाज हुनुपर्छ। आफ्नो देशको राज्यको ढुकुटी कार्यकर्ता पोसेर, विदेशमा उपचार गर्न पुगेर, विशिष्टहरुको नाममा सेवासुविधा थपेर, महँगो-महँगो सवारीसाधन खरिद गरेर, भोज भतेर गरेर झ्वाम पार्ने अनी “यो पनि त्यो पनि” अनुदानमा गराइदेउ भन्दै हिंड्ने ? देशको राष्ट्रिय सम्पंदा सम्पति, नदीनाला कौडीको मुल्यमा भारतलाई दिने अनि राष्ट्रवादी पगुरी गुठ्ने ? देशको विकास गर्न मितव्ययिता जरुरि छैन ? केवल रित्तो थाल विदेशी संग थाप्ने ? ऋण र अनुदान सहयोग लिनुपर्छ तर त्यो किन लिने? आफ्नो सेवा सुविधा बढाउन ?महङ्गा कार चढ्न ?राज्यलाई ऋण भार थपेर नेताहरुले मोजमस्ती गर्न? के मितव्ययिता जरुरी छैन ?

 

 

 

यि सबै गतिविधि हेर्दा ओली मुहम्मद महाथिर र लि क्वानको पथमा छ भन्न कसरी सकिन्छ? आजका मिती सम्म कुन चाँहि काम “ली क्वान र महाथिर” को झल्को दिनेगरी गरेका छन् ओलीले ? बोल भक्ते बोल, एक वचन बोल ।

 

 

९ ८१३ Total Views ९ Views Today

Comments