नेपालको सिङ्गापुर यात्रा ।

Published: March 29, 2018 | 9:44 am | बिहिबार, चैत्र १५, २०७४ | ४४८७ पटक पढिएको

लेखकः डोलु आले मगर

७१९.९ वर्गकिलोमिटर क्षेत्रफलमा, छप्पन्न लाख सात हजार तीन सय जनसंख्या बोकेको Singapore भन्ने देशको per capital income करिब पचपन्न हजार डलर छ। यहि देशको बजेटमा अर्बौं डलर रकम surplus हुन आएपछि नागरिकलाई बोनस बाँड्ने अखबार पनि केही हप्ता अगाडि मात्रै पढ्यौं ।

 

 

सन् १८२४ देखी बेलायती साम्राज्यमा रहेको सिङ्गापुर दोस्रो विश्वयुद्धमा १९४२ देखि १९४५ सम्म जापानको कब्जामा रहेको थियो। दोस्रो विश्वयुद्धपछि पुनः बेलायती अधिनष्ठ बनेको सिङ्गापुर सन् १९६३ मा एउटा स्वशासित संघिय राज्यको रुपमा मलेसियामा गाभिएको थियो।

 

 

 

सिङ्गापुर मा भएको साम्प्रदायिक संघर्ष र वैचारिक द्धन्द्धको कारण चाइनिजबाहुल्य रहेको एउटा गरिब राज्य सिङ्गापुर, मलेसियामा मिसाउँदा आफुहरुको राजनीतिक भविष्य राम्रो नहुने र साम्प्रदायिक द्धन्द्ध निम्तन सक्ने भन्दै मलेसियाको तत्कालीन नेता प्रधानमन्त्री टुन्कु अब्दुल रहमानले सिङ्गापुरलाई मलेसियबाट अलग गर्नुपर्ने प्रस्ताव मलेसियन संसदमा सन् १९६५ अगस्त ७ तारिखका दिन गरेका थिए। अगस्त ९ मा उक्त प्रस्ताव माथि मतदान हुदाँ कुल १२६ मत मध्ये उक्त प्रास्तावको पक्षमा शतप्रतिशत मत परेको थियो।

 

 

सिङ्गापुरका नेता Lee Kuan Yew( ली क्वान यू) ले तत्काल सिङ्गापुर एउटा स्वतन्त्र देश भएको घोषणा गरे । संसारकै एउटा सानो, गरिब र दरिद्र देशको परिचय बोकेर पृथ्वीको मानचित्रमा उभिएको सिङ्गापुरलाई पृथ्वीको एउटा अँध्यारो कुना भन्ने परिचय दिएको थियो। भौगोलिक हिसाबमा मलेसिया संग मिल्दोजुल्दो सिङ्गापुरलाई मलेसियामा गाभ्न चाहान्थ्ये Lee Kuan Yeu (ली क्वान यू) । तर मलेसियन संसदमा भएको मतदानबाट उनले चाहेजस्तो नभएपछि “Singapore will survive” भन्दै सिङ्गापुरलाई सम्हाल्ने अठोट गरे ।

 

 

सन् १९२३, सेप्टेम्बरमा जन्मेका तिनै Lee ले करिब पाँच दशक सिङ्गापुरको नेतृत्व गरे। सिङ्गापुरलाई विकासको द्रुतमार्गमा दगुराए । भ्रष्टाचार विरोधी कडा कानुन, उधोग तथा लागनीम‌ैत्री वातावरण बनाउन सरकारी बाहेक अरु मजदुर संगठन बन्देज गरे र, मजदुरका हकहितका लागि सरकारी मजदुर संगठन बनाए, लागूऔषध ओसारपसार विरुद्ध कडा कानुन निर्माण तथा तत्काल लागू हुने व्यवस्था गराए जसले गर्दा एउटा अँध्यारो कुनाको परिचय बोकेको सिङ्गापुर आज वैभवशाली देशको रुपमा परिचित बनेको छ।

 

सिङ्गापुरको आज निर्यात व्यापार ३२९.७ विलियन अमेरिकी डलर छ भने, आयात २८२.९ विलियन अमेरिकी डलर छ । कुल ग्राहस्थ उत्पादन (Gross Domestic Production GDP) को मुख्य क्षेत्र सेवा (service) हो जसले कुल ग्राहस्थ उत्पादनको ७३.४% ओगटेको छ भने उधोग (Industry) ले २६.६% ओगटेको छ । सिङ्गापुर त्यस्तो देश हो जहाँ कृषि क्षेत्रले GDP मा कुनै योगदान दिएको छ‌न अर्थात सिङ्गापुर मा कृषि उत्पादन हुदैन/गरिँदैन। कृषीजन्य उत्पादन सबै आयातमा निर्भर रहेको छ ।

 

सिङ्गापुरमा चाईनिज ७४.३%, मले १३.३% , इण्डियन ९.१% र अरु ३.३% जातिय समुदायहरू छन् । सिङ्गापुरको सरकारी कामकाजको भाषा अङ्ग्रेजी, मेन्डरिन, मले र तामिल हो । भने यहाँ ३३.२% बुद्ध, १८.८% क्रिश्चियन, १४.०% मुस्लिम, १०.०% टायोजम एण्ड लोकधर्म, ५.०%, हिन्दु र ०.६% अरु धर्म मान्नेहरु छन् । यिनै सम्प्रदाय, भाषाभाषी र धर्मका समुदायलाई मिलाएर देश विकासमा एकताबद्ध रुपमा लाग्न कुशल नेतृत्व गरेका Lee Kuan Yew बाट आज संसारलाई एउटा प्रेरणा को स्रोत बनेको छ।

 

 

सिङ्गापुर आधुनिक विकासमा जतिनै अगाडी भएतापनि उनले हरेक समुदायको इतिहास र पहिचानलाई जिवन्त राखेका छन् । हिन्दुहरुले मान्ने दिवाली, चाइनिजले मान्ने चाइनिज नयाँ वर्ष, मले अर्थात मुस्लिम ले मान्ने रमदान होस् या कृश्चियनले मानाउने क्रिसमस सबैलाई उत्तिकै समान व्यवहार छ । सिङ्गापुर मा लिटिल इण्डिया, मलाय स्ट्रिट र चाइनाटावन जस्ता पहिचान युक्त स्थानहरु छन् । दिवालीको बेला लिटिल इण्डिया, रमादानको बेला मलाय स्ट्रिट , चाइनिज नयाँ वर्षको बेला चाइनाटावन र क्रिसमस को बेला अर्चिड रोडमा झकिझकाउ तथा फेस्टिभल लाग्ने गर्छ ।

 

सिङ्गापुर मा तीन तहसम्म अण्डरवे गुडने MRT (Mass Rapid Transit) सेवा छ । सिङ्गापुर भूमध्ये रेखा नजिक पर्ने भएकोले यहाँ मौसम सदावहार रहन्छ। यहाँ आँप र अम्बा बाह्रैमास फलेको देख्न सकिन्छ ।

 

 

सिङ्गापुरमा लागूपदार्थ सेवन तथा ओसारपसार , बलत्कार, आंतकारी हमला वा योजना, हत्या जस्ता अपराधमा मृत्युदण्ड दिनसक्ने कानुन छ भने , अव‌ैधानिकरुपमा बसोबास गर्ने, हुलदंगा गर्ने, सवारी दुर्घटना, चोरी गर्ने जस्ता अपराधमा कोर्रा हान्ने, आइसमा राख्ने जस्ता कडा सजायको व्यवस्था छ ।

 

 

सिङ्गापुर यस्तो देश हो जहाँ प्रहरीको आखाँबाट टाढा कुनै त्यस्तो सार्वजनिक स्थान छैन। अर्थात सौचालयहरु बाहेक सबै सार्वजनिक स्थानहरुमा सिसीक्यामेरा जडान गरिएको छ। जसले गर्दा कुनै अपराध गरेर पुलिसको नजरबाट भाग्ने, फुत्कने चान्स छैन ।

 

 

पाँच दशक अगाडिको एउटा सानो गरिब र दरिद्र देश जसलाई संसारको अँध्यारो कुना भन्ने गर्थ्यो। उक्त देश एउटा सामाजिक न्याय र समानताको मान्यतालाई व्यवहारमा उतार्दै राजनीतिक स्थिरता,स्थायित्व र शान्ति कायम गर्दै संसारको आर्थिक सम्पन्न देश बनेको छ । जसको कुशल नेतृत्व दूरदर्शी Lee Kuan Yew ले गरे र आजको वैभवशाली उज्यालो सिङ्गापुर विश्वको मानचित्रमा उभ्याउन सफल भएर यस धर्तिबाट सन् २०१५ मार्च २९ मा विदा भएका थिए।

 

 

विगत केही दशक यता नेपाली राजनीतिक नेताहरुले बारम्बार नेपाललाई सिङ्गापुर जस्तै बनाउँछु भनेर भाषण गर्ने गरेको सुनेका छौँ । पहिलो संविधान चुनावताका पुष्पकमल दाहालले दश वर्षमा नेपाललाई स्विट्जरल्यान्ड/ सिङ्गापुर जस्तो बनाउने भाषण गरेका थिए। त्यो दश वर्ष नेपाल र नेपाली राजनीति कसरी बित्यो त्यो हामीसामु छर्लङ्ग छ ।

 

 

हिजो मात्रै फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल केही वर्षमै स्विट्जरल्यान्ड/ सिङ्गापुर जस्तो बन्ने/बनाउने भाषण ठोकेछन् । कुनै कालखण्डको एउटा गरिब सानो देश, समुन्द्री टापु जहाँ प्राकृतिक स्रोतसाधन केही थिएन त्यो देश त बाघको गतिमा विकास गर्न सक्छ भने हाम्रो देशमा असम्भव छ भन्ने चाँहि होइन । तर पटकपटक सत्ता पुगेर पनि जनताको आधारभूत आवश्यकतालाई पुरा गर्न नसक्ने, काम सिन्को नभाँच्ने भाषण र उखान टुक्का ज्यादा गर्ने, देशमा भ्रष्टाचार मौलाउँदै जाने, आस्थावाद, नातावाद, कृपावाद र जातीवादमा फस्ने, औधोगिक तथा लगानी मैत्री वातावरण सिर्जना गर्न नसक्ने, देशको आन्तरिक द्धन्द्ध र समस्याहरुको समाधानको निम्ति जिम्मेवार र संवेदनशील नहुने, कानुनी राज्यको उपहास गर्ने, अल्पकालिन् र दिर्घकालिन योजना तर्जुमा गरेर काम गर्नुभन्दा राजनीतिक भागबण्डा र मिलेमतोमा विकास निर्माणको कामहरु ठेक्कापट्टटामा लगाउने, छाडा र भ्रष्ट कर्मचारीलाई नियमन र कारबाही गर्न नसक्ने, कर्मचारी, ट्रेड युनियन, विधार्थी , शिक्षक जहाँ त्यँहा राजनीतिक दलैपिच्छे संठगन बनाउने, सुरक्षा निकायमा भ्रष्टाचार बढ्ने तथा राजनीतिक हस्तक्षेप हुने यि यावत् चित्र चरित्रहरुको दर्पण देख्दा नेपालको यात्रा केही वर्ष भित्र सिङ्गापुर पुग्छ भन्ने भाषणमा विश्वास कसरी गर्न सकिन्छ?

 

नोट: डाटा स्रोत विभिन्न प्रकाशित लेख तथा विकिपिडिया ।

४४८८ Total Views ६ Views Today

Comments