कोरियाको अपदस्त राष्ट्रपति पार्कको जीवन काल : कानुनी राज्यको एक उदाहरण

Published: April 2, 2017 | 11:41 am | आइतवार, चैत्र २०, २०७३ | ६३५० पटक पढिएको

gocoolthokar-768x767

 

गोकुल थोकर  

शुक्रबार बिहानै दक्षिण कोरियाको अपदस्त राष्ट्रपति पार्क गुन हे पक्राउ परिन् । अपदस्त हुनु पहिले उनी कोरियाको शक्तिशाली पहिलो महिला राष्ट्रिपति थिइन । सदनमा उनको पार्टीको बहुमत थियो । उनले जे जस्तो निर्णय गर्थिन पारित हुन्थ्यो ।

 

देशमा उनको राज थियो । त्यही बेला देशका ठूला कम्पनीलाई प्रभाबमा पारेर साथी चोइ सुन सिलको संस्थालाई करौडो डलर दिन लगाइएको आरोप लाग्यो । साथै उनले जे जस्ता निर्णय राष्ट्रपति हुँदा गरिन् सबै साथी चोइले गराएको र छायाँ राष्ट्रपति भएर गैह्रसंबैधानिक कार्य गरेको भन्ने पनि आरोप लाग्यो ,अहिले दुबै जेलमा छन् ।

 
यी दुबै साथीको भेट ४० बर्ष भन्दा पहिले भएको थियो । पार्कको तानाशाही बुबा पार्क चुङ हे हुँदै साथी भएका थिए । सन् २०१२ मा पार्क राष्ट्रपति भए पछि उनीहरुको मित्रता झन घनिष्ट भएको थियो । राष्ट्रपतिले जेजस्तो काम गरे पनि चोइले मुख्य निर्णय लिने गरेकी थिइन् । कति सम्म भने राष्ट्रपतिले हरेक ठाउँमा गर्ने भाषणमा के बोल्ने भनेर पनि चोइले नै निर्णय गर्थिन् ।

 

दक्षिण कोरियाको संबिधान अनुसार कुनै पनि सरकारी ओहोदामा नभएको मानिसले यस्तो काम गर्नु असंबैधानिक मानिन्छ ।
पार्क जीवनको झन्डै २२ बर्ष राष्ट्रपति भवनमा बिताइन् । बुबाको राष्ट्रति हुँदा उनको बाल्यकाल राष्ट्रपति भवनमा बित्यो । झन् उनको आमाको हत्या पछि सन् १९७४ देखि बाबुको हत्या सन् १९७९ मा नहुँदा सम्म प्रथम महिलाको जिम्मेवारी पनि थिइन् ।

 
एक बर्ष पहिले जब देखि उनको बारेमा बिभिन्न सञ्चार माध्यमबाट असंबैधानिक गतिबिधिका गरेर साथीलाई फाइदा पुर्याएको समाचार आउन थाले । देश भरि नै बिरोधका स्वर उठ्यो । उनले बाराम्बार कुनै पनि गलत काम नगरेको भनि रहिन् । बुझ्दै जाँदा उनी बिरुद्ध गरिएका कुराहरु सही रहेको पाइयो ।

उनको जीवनका मुख्य घटना यस्ता छन् ।
-सन् १९५२ थेगुमा जन्म भएको थियो ।
सन् १९७४ मा उत्तर कोरियाका एक जनाले बाबुलाई हानेको गोली आमालाई लागि मृत्यु भयो । पार्कलाई आमाको जिम्मेवारी अर्थात प्रथम महिलाको जिम्मेवारी आयो ।
सन् १९७९ आफ्नै गुप्तचर बिभागका प्रमुखद्धारा बाबुको गोली हानी हत्या गर्यो ।
सन् १९९८ मा औपचारिक राजनैतिक जीवन सुरु । संसदको सदस्यमा निर्बाचित भइन् ।
सन् २००४ मा पार्टीको प्रमुखमा निर्बाचित भइन् ।
सन् २०१२ को डिसेम्बरमा राष्ट्रपतिमा निर्बाचित बनिन् ।
सन् २०१३ को फेबररीमा कोरियाको प्रथम महिला राष्ट्रपतिको कार्यकाल सुरु गरिन् ।
सन् २०१४ अप्रिल १६ मा सेवल पानी जहाज दुर्घटना जसमा ३ सय ४ जनाको मृत्यु भयो । सरकारले तुरुन्त उद्धार नगरेको आरोप लाग्यो । यसै घटनाले उनको राजनैतिक जीवन पतन सुरु भएको मानिन्छ । देश भरि सरकारको चर्को बिरोध भए पछि उनले सात जना मन्त्रीमण्डल परिवर्तन गरिन् ।
सन् २०१६ अक्टोवर २५ मा बिभिन्न मिडियामा उनको असंबैधानिक गतिबिधिका रिपोर्ट आए पछि देश भरिबाटै जनताको बिरोध भयो । उनले टेलिभिजन मार्फत साथी चोइलाई आफ्नो भाषण तयार पार्न दिएको स्विकार गरिन् । जनतासँग माफि मागिन् ।
सन् २०१६ नोभेम्बरमा जनताको विरोध झन् बढ्दै गए पछि जनताको नाममा दोस्रो पटक संबोधन गरिन् । कुनै पनि गल्ति नगरिएको कुरामा जोड दिदै जनताको फेरी माफि मागिन् ।
सन् २०१६ नोभेम्बर २० मा आरोपित पार्ककी साथी चोइ बिरुद्ध शक्तिको दुरुपयोग गर्दै गैह्रकानुनी काम गरेको मुद्दा दायर भयो । उनलाई पक्राउ गरियो ।
सन् २०१६ नोभेम्वर २९ तेस्रो टेलिभिजन सम्बोधन गरिन् । संसदले जे जस्तो निर्णय गर्छ त्यसै अनुसार आफु चल्न तयार रहेको बताइन् ।
सन् २०१६ डिसेम्बर ९ संसदमा महाअभियोग प्रस्ताव पारित भयो । आफ्नै पार्टीका संसद सदस्यले उनी विरुद्ध मतदान गरे ।
कोरियामा संसदले महाअभियोग पारित गरे पनि संबैधानिक अदालतको निर्णय अन्तिम हुने गर्छ । त्यसैले उनको मुद्दा संबैधानिक अदालतमा गयो ।
यसै बर्षको मार्च १० मा संबैधानिक अदालतले पार्कलाई राष्ट्रपतिबाट हटाउने निर्णय गर्यो । पहिलो पटक राष्ट्रपतिलाई अदालतले हटायो ।
मार्च २१ मा राष्ट्रपतिबाट हटे पछि पहिलो पटक अदालतमा उपस्थित भइन । पदको दुरुपयोग नगरेको भनाई राखिन ।
मार्च ३० मा सउलको जिल्ला अदालतले थुनामा राख्ने आदेश जारि गरे पछि उनलाई पक्राउ गरियो ।
एक बर्ष अघि सम्म शक्तिशाली थिइन । अहिले जेलमा छिन् । उनलाई अरु बन्दी झै १४ सय ४० वन अर्थात नेपाली एक सय २० रुपैया जतिको तीन छाक खाना खुवाइन्छ । साढे छ वर्ग मिटर कोठा नै उनको संसार हो । यदि उनि बरुद्धका आरोप प्रमाणित भएको कम्तिमा १० बर्ष बढिमा आजिवन जेलमै बिताउनु पर्ने हुन सक्छ ।
ठ्याक्कै यस्तै परिस्थिति नेपालमा हुने हो भने के हुँदो हो ? प्रश्न गम्भिर भए पनि उत्तर सजिलो छ । कहिल्यै जेलमा जानु पर्ने थिएन । हाइ हाइ हुने थियो, छ पनि । हाम्रोमा जनताको कुरा राजनैतिक कर्मीले कहिल्यै सुन्दैनन् । पार्टीका कुरा सुन्छन् । पार्टी दुई तीन जनाले चलाउँछन् । त्यसैले कुनै पार्टीमा हुनु भनेको त्यो पार्टीका लागि जे गरे पनि ठीक गर्नु हो ।
जनता पनि उस्तै छन् । भ्रष्टचारको मुद्दामा प्रमाणित भएर जेल बसेकालाई ठूला नेता मान्छौ । जेल जीवन भोग्नु राम्रो नेता बन्नेको प्रमाण जस्तो भएको मानिन्छ । भलै भ्रष्टचारको कारण नै जेल गएको किन नहोस् । पार्टीेले त्यस्तालाई निस्कासन गर्न सक्दैन । बरु उहाँ फस्नु भएको भन्ने चलन छ । यो संस्कृति संस्कारै झै भएको छ ।
कानुनले चलेको देशमा जस्ले गैह्रकानुनी काम गर्छ । त्यसले संजाय भोग्छ । पद जति नै ठूलो सानो किन नहोस् । हाम्रोमा अहिले सम्म भन्नलाई कानुनी राज्य भनिए पनि यर्थाथमा देखिएको छैन । ठूलालाई कहिल्यै कुनै कानुन लाग्दैन । गलत गरे पनि दण्ड दिनुको सट्टा पुरस्कृत गरिन्छ । जो छ कानुनले नचलेको देश ।

६३५१ Total Views ९ Views Today

Comments