धन्यवाद कोरिया

Published: January 12, 2017 | 1:50 pm | बिहिबार, पुस २८, २०७३ | ४६४७२ पटक पढिएको

dolu ale magar
“त्यो मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध अहिले नाक मुख र पेटले पचाएको छ, विगत र इतिहास बनेको छ भलै त्यसको साइड इफेक्टहरु त् धेरै होलान्। तर पनि नेपालमा बेरोजगार र दुइ पैसाको लागि भौतारिदै गर्दाको पिडा र त्यसले आक्रान्त भएको दिमागलाई भने ठिक गरेको छ। धन्यवाद कोरिया।”
लेखक-डोलु आले मगर
ओ हो !!
पहिलो दिन कम्पनीमा छिर्दै गर्दा मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध। काम गर्न सकिन्छ जस्तो लागेको थिएन।
 
काम कसरी सिक्ने ? कसरी गर्ने ? कसरी मेशिन संग चल्ने अनि कसरी कम्पनीको वातावरणमा घुलमिल हुने? कोरियाको प्राय बोइल गरेको खानपिन संग कसरी आफ्नो मसलेद्वार जिब्रोलाई बानि पार्ने ? कोरियनहरुले अह्राएको काम कसरी बुझ्ने ? केहि महिना दिन सम्म यस्तै उकुस मुकुस रह्यो दिनहरु।
 
विदेश आएर काम गर्नु, नयाँ वातावरण, नयाँ खानपिन, नयाँ परिवेश, नयाँ काम सुरुका केहि महिना साच्चै कठिन भयो र हुन्छ। यस्तै भयो केहि महिना मलाइ पनि कतै जेल परे जस्तै, कतै एउटा अपराधीलाई कठिन सजाय दिए जस्तो। तर पनि नेपालको परिवेश, आफ्नो आर्थिक पृष्ठभूमि, पारिवारीक जिम्मेवारी यो सबको अगाडी गौण हुन् र भयो पनि।
 
म भाग्यमा विस्वास गर्ने मान्छे त् होइन तर नेपालबाट पैसा कमाउने सपना, रहर र त्यो भन्दा धेरै बाध्यता को झोला बोकेर अनेकौं प्रक्रिया पश्चात कोरिया आएको धेरै भाग्यमानि नेपालीहरु मध्ये म पनि एक हुँ।
 
शनिवार पश्चात आइतवारको प्रतिक्षामा व्यग्र हुन्थ्यो। हप्ताको ६ दिन १२-१३ घण्टा काम गरेर एक दिनको विदा आउँदा कसम एउटा ठुलो युद्ध जितेको अनुभव हुन्थ्यो र हुन्छ। आइतबार साँझ भोलिदेखिको कामको सम्झनाले विस्तारमा पल्टनासाथ् छट्पटी हुन्छ।
 
चार वर्ष दश महिनाको समय अवधि कसरि कोरियामा काम गरेर बिताउने ? ओ! हो !! जिब्रो टोकिएकै हो। यति वर्ष काम गरेर महिनाको लाख बचाउन सकियो भने त् पुग्छ। मनमनै सोचिएकै हो। शहरमा एउटा जग्गा जोड्छु, एउटा सानो घर बनाउँछु, त्यसपछी बचेको केहि पैसाले नेपालमै बसेर केहि पेशा-व्यवसाय गर्छु, यसरी योजना पनि बुनिएकै हो। तर जब-जब कोरियाको भिषा अवधि सकिन उन्मुख हुँदै छ तबतब एक प्रकारको प्रश्नको प्रहार आफै संग हुँदै छ अब के गर्ने?
 
सोंच र सपना जस्तो बिपना कहाँ हुन्छ र? प्रत्येक नेपालीको व्यक्तिगत योजना र सपनामा प्रभावित पार्ने नेपाली राजनीतिको अत्यासलाग्दो वातावरण उस्तै छ। सिमित स्रोत साधनबाट केहि पेशा व्यवस्या गर्ने योजना बनाउनेहरुलाई धेरै पटक सोच्नुपर्ने बाध्यता छ। सिमित पुँजी लगानी गरेर सुरुको लगानी क्षति भएमा अर्को लगानी गर्न कठिन हुने अवस्थामा सिमित लगानी हुनेहरुलाई जोखिम बहन गर्नु कठिन छ।
 
हुनतः नेपालमै यतिका दुख गर्ने हो भने निर्वाहमुखी जीवन जिउनको लागि गाह्रो होइन। तर निर्वाहमुखी जीवनमा कसले चित्त बुझाउने ?
 
 
कोरियाको ४ वर्ष १० महिनाको भिसा अवधि सकिन उन्मुख छ। अचेल फेसबुक म्यासेन्जरमा साथिहरुले प्रश्न गर्छन् फेरि कोरिया आउने हो कि नेपालमै केही गर्ने? यस्ता प्रश्नहरुको ठोस जवाफ छैन म संग र त उत्तर दिन्छु खै के गर्ने थाहा छैन।
 
 
 
केहि साथीहरु भन्छन् अब त् नेपालमै केहि गर्नुपर्छ कति विदेश बस्नु ? हो मलाई पनि त्यस्तै लाग्छ। नेपालमै केहि गर्नुपर्छ तर गर्ने चाहिं के ? ठोस उत्तर छैन न त् साथीहरुले नै ठोस रुपमा दिन्छन् हो यसो गर्नुपर्छ भनेर। मैले पनि नेपालमा रहने धेरै मित्रहरुलाई सुझाव दिएको छु विदेश आएर यति दुख गर्नुभन्दा त् नेपालमै केहि गरे राम्रो हुन्छ। नेपालमा नै केहि व्यवसाय गरेर बस्नु राम्रो भनेर तर नेपालमै केहि गरेर बस्नु भन्न जति सजिलो छ त्यति सहज छैन यहि गर्नु र गर्छु भनेर निर्णय लिन र दिन।
 
 
 
कोरियामा ४ वर्ष १० महिनाको कमाइले एउटा टुक्रा जग्गामा चार कोठे घर बनाएर बंचेको केहि रकम लगानी गरेर जोखिम बहन गर्ने क्षमता देख्दिन साच्चै । केहि मित्रहरुले भन्छन्, नेपालमा गाह्रो छ मिल्छ भने अझै दुइ चार वर्ष उतै भिषा मिलाउनु। हुन पनि पढेलेखेर डिग्री हासिल गर्नेहरु पनि विस-पच्चीस हजारको जागिर छाडेर विदेश नै कुलेलाम ठोक्नेहरु दिन प्रतिदिन बढ्दो छ।
 
 
 
नेपालको परिस्थिति यस्तै छ, महंगी छ, बेरोजगार छ, भ्रष्टाचार छ, राजनीतिक अस्थिरता छ, नेपालको अहिलेको युवाहरु कुहिरो भित्र हराएको काग जस्तै भएको छ, भविष्य देख्दैनन् देशमा, अलमलमा छन् म जस्ता लाखौँ युवाहरु। सम्भावनाहरु नभएको होइन छ तर वातावरण छैन, जोखिम र चुनौती धेरै छन् तर त्यसलाई बहन गर्न सक्ने क्षमता कम्जोर छ।
 
एक पटक परदेशिएको जिन्दगी घरको न घाटको जस्तो
 
साच्चै भन्ने हो भने एक पटक परदेशिएको जिन्दगी घरको न घाटको जस्तो न देशको न परदेशको। अब विदेश नआउने भन्यो भने गरि खान नसकेर आयो भन्ने जमात समाजमा ठूलै बनिसकेको हुन्छ। यता परदेशमा जति गरे पनि विदेशी विदेशिनै हुन्छ। नेपालमा के गर्ने भन्ने मेसो पाउन मुस्किल छ। परदेशको दुख र बाध्यता आफ्नै ठाउँमा छ तर समाज र आफ्ना आफन्तको अपेक्षा र चाहना बेजोड बढिसकेको हुन्छ। परदेश बसेर न आफ्नो चित्त बुझाउन सकिन्छ न अरुको नै। फेरी मान्छेको लोभ र लालच, चाहना र आकांक्षा भन्ने चिज जति भयो उति बढ्दै जाने पनि रहेछ। सिमित स्रोत र साधन बाट त्यसलाई पूर्ति गर्न कठिन छ।
धन्यवाद कोरिया
 
नेपालमा जति नै काम गरेको मान्छे भनेपनि दिनको ४-५ घण्टा हो। हप्तामा २-४ दिन हलो जोत्यो भने सिंगो महिना दिनको एक भारी घाँस काट्नु भन्दा अरु काम खास गरेका नेपाली युवाहरु छैनन् होला जस्तो लाग्छ। तर कोरिया आए पश्चात दिनको १२ घण्टा काम गर्ने बानि पर्छ हामीलाई । ज्यानले महिनाको आइतबार बाहेक अरु दिन पूरापूर हप्ताहप्तामा दिन र रात काम गर्छ । नेपालमा दश घण्टा सुतेर पनि निद्रा नपुग्ने ज्यानलाई यहाँ ६ घण्टाले पुग्छ। घरमा काममा बाबाआमालाई ठगे जस्तो ठग्न सकिन्न कोरियामा साहुलाई।
 
 
 
कोरियाले काम गर्न सिकाएको छ, काम के हो र कामको मूल्य के हो त्यो चिन्न सिकाएको छ। समय के हो र समयको महत्व के हो चिन्न सहयोग गरेको छ। लाइनमा बस्न सिकाएको छ। खान सिकाएको छ । बाटो हिंडन र सडक पार गर्न सिकाएको छ । सामान्यरुपमा निस्कने फोहरको व्यवस्थापन गर्न सिकाएको छ। लाग्छ यस्ता सानोतिनो जस्तो लाग्ने कुराहरु पनि दैनिक व्यवहारमा उतार्न सकियो भने देशलाई ठुलो योगदान गर्न नसकिए पनि सामान्यरुपमा साधारण नागरिकको हिसाबले निर्वाह गर्नुपर्ने भूमिका पुरा गरेर राज्यलाई सहयोग पुग्छ भन्ने लाग्छ ।
 
जति सुकै पिडा र दुख भएतापनि नेपालमा साधारण जागिरले कमाउन नसकिने आर्थिक लाभ दिएको छ। कहिले काहीं कसैलाई दुख पर्दा र विभिन्नखाले सामाजिक अभियानहरुमा सानोतिनो भए पनि आर्थिक सहयोग गर्न सिकाएको छ, सकिएको छ।
 
 
त्यो मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध अहिले नाक मुख र पेटले पचाएको छ, विगत र इतिहास बनेको छ भलै त्यसको साइड इफेक्टहरु त् धेरै होलान्। तर पनि नेपालमा बेरोजगार र दुइ पैसाको लागि भौतारिदै गर्दाको पिडा र त्यसले आक्रान्त भएको दिमागलाई भने ठिक गरेको छ। धन्यवाद कोरिया।
४६४७३ Total Views ३ Views Today

Comments