गल्ली-गल्लीमा भेटिन्छन् यहाँ मोर्डन ‘मुना-मदन’

Published: October 16, 2016 | 11:40 am | आइतवार, अशोज ३०, २०७३ | ४५२८ पटक पढिएको

       

एसएलसी परीक्षा सकिएको दिन थियो त्यो । मामा आउनु भएको थियो मलाई लिन । २०/२५ मिनेटको बाटो भए पनि मामासंगै मामाघर जाँदा मख्ख थिएँ म । उसो त म सानो-सानो कुरामा पनि औधि रमाउने मान्छे । एसएलसी सकाउँदाताका बच्चै थिएँ जस्तो लाग्छ । जहिले मलाई हौस्याउने मामासंग बस्न साह्रै रमाईलो लाग्थ्यो । एसएलसी परीक्षा राम्रोसँग दिएको छु भनेर मामासँग गफिन पाउँदा म मख्ख थिएँ ।

मामाको बाईकमा चढ्नुअघि घरबाट निस्कँदा आमाले टाउकोमा तेल लगाइँदिदै भन्नुभयो, ‘अब त ठूलो भइस्, केटी फकाउन नि पर्छ के ! अलि राम्रो बन्न सिक कान्छा ।’ मलाई त आमाले के भन्नु भयो भन्ने लाग्यो । ‘हि हि…, आमा म त नक्कले नबन्ने !’ भन्दै दौडिएर मामाको बाईकको पछाडि बसेँ, अनि हामी मामाघतिर लाग्यौँ । सानैदेखि नै अलि कम बोल्ने र धेरै सुन्ने बानी थियो मेरो । खुसीले उत्साहित हुँदा भने अलि जोडजोडले बोल्ने गर्थेँ । आमाले त्यो कुराभन्दा त्यति ध्यान दिइनँ, बरु लजाएर दौडिएँ । केटी जिस्क्याउने, फकाउने त परको कुरा थियो मेरा लागि । म त केटीहरुसंग बोल्न पनि सारै धक मान्थेँ । तर एउटा कुरामा भने अति गजबको मान्छे म आफ्नी दिदी, आमासंग भने सबैभन्दा बढी कुरा गर्न सक्थें । घरमा दिदीआमा जम्मा भएको बेला त मलाई बोलेरै फुर्सद हुँदैन थियो ।

santosh-sagar
सन्तोष सागर

एसएलसी सकिएपछि काठमाडौंबाट पहिलो चोटी घर फर्किदाको कुरा: ‘कान्छा! कस्ता हुन्छन् त काठमाडौंका केटी ?’ दिदीले सोध्नु भयो । म त रिसाएँ दिदीसंग । एक त केटीहरुसंग बोल्नै नसक्ने म कहिल्यै उनीहरुसँग नजिक भइनँ । अर्कोतर्फ पढ्न नै सकस भइरहेका बेला केटीतिर ध्यान दिने कुरा पनि भएन । फेरि नपढेर बाहिर डुलेको देख्दा मामाले सारै मायाले सम्झाउने । कतै ध्यानै दिन पाएको थिइनँ । म दिदीहरुसंग जति खुलेर बोल्न सक्थें अन्य केटीहरुसंग त्यति सक्दैन थिएँ । दिदीको प्रेम विवाह भएको थियो । ‘दिदि केटी त हजुरजस्तै हजुरले नै खोजिदिनुस् है ! मलाई केटी हेर्न, जिस्क्याउन अनि फकाउन नै आउँदैन ।’ मैले दिदीको त्यो प्रसंगलाई यति भनेर टारिदिएँ ।

प्लस टु पढ्दाको कुरा। म एक्लै आफ्नै तालले हिड्न सारै मन पराउने मान्छे। म कीर्तिपुर बस्थें र बल्खु पढ्थें। कीर्तिपुर देखि बल्खु सम्म कम्तिमा आधा घण्टा लाग्थ्यो हिड्दै जाँदा। धेरै पटक माइक्रो वा कुनै पनि गाडी नचढी पैदल हिडें। एक्लै एक्लै आफ्नै तालमा हिड्दा आधा घन्टा होईन ४५/५० मिनेट लाग्थ्यो।तर पनि हिड्नमा धेरै मजा लाग्थ्यो। यस्तै गर्दै जिन्दगीकोएकल यात्रा गर्दै थिएँ मैले।

प्लस टूमा धेरैजसो साथीहरु काठमाडौं र केही बाहिरका थिए । मेरो जिल्लातिरका अलि कम थिए । तर बुटवल आसपासका सबै साथी आफ्नै ठाउँकोजस्तो लाग्दथ्यो । कति साथीको त लवज र बोल्ने शैलीबाट नै नजिकको अनुमान लगाउथेँ । पाल्पा, गुल्मी र अर्घाखाँची आसपासका जिल्लाबासीको लवज लगभग उस्तै हुने । मेरो क्लासमा त्यताका कोही पनि भेटिएनन् । हल्काहल्का चिनजान भयो साथीहरु संग । प्राय: बोल्दा सुरुमै मान्छे बुझेरमात्र कुरा गर्ने बानी थियो । आफूसित कुरा मिल्नेजस्ता साथीहरु संग बोलेँ । अलि हिरो पल्टिने, कपाल ठाडो ठाडो पार्ने, स्मार्ट बन्ने र अरुलाई होच्याउने प्रवृत्तिका साथीहरु कत्ति पनि मन पर्दैनथ्यो । ‘simplicity is the best’ लाग्थ्यो ।

कक्षा ११ मा पढ्दा आफ्नै कक्षाका कति साथीहरुको त नामसमेत थाहा भएन । किनकी सुरुमा गरिएका परिचय दीर्घकालीन हुँदैनथे । सबैको नाम सम्झिनै गाह्रो । पछि मिल्नेहरुको मात्र नाम थाहा भयो । सबैसंग घुलमिल हुने बानीमा म अति दुर्बल प्राणी । त्यो वर्ष त्यत्तिकै बित्यो । कुनै केटीप्रति आकर्षण भएन ।

कक्षा १२ मा पढ्दा भने सेक्सन परिवर्तन भयो । म अर्को सेक्सनमा परेँ । एघारमा जस्तो भएन । अलि घुलमिल हुन जान्नुपर्छ र सक्नुपर्छ भन्ने लाग्यो । तुलनात्मकरुपमा केही राम्रा साथीहरु पनि पाएँ त्यहाँ । थाहा थिएन यस्ता साथीहरु अघिल्लो वर्ष थिए कि थिएनन् । किनकी ११ मा मसँगै सेक्सनमा पढेका साथीहरु पछिल्लो वर्ष मसँग परेका थिएनन् । सेक्सन परिवर्तन हुने म मात्र रहेछु । सुरुमा त मलाई कुनै नौलो कलेजमा भर्ना भएँ जस्तै लाग्थ्यो ।  मैले जीवनलाई आफ्नै तरिकाले अनुभूत गर्दै थिएँ । एघारमा भन्दा बाह्रमा पढ्दा धेरै साथीसंग परिचित र नजिक भएँ म ।

म एक्लै रमाउँदै टियु क्रिकेट ग्राउण्ड भएर आउँथे । हप्तामा लगभग तीनचोटी यो बाटो नहिँड्दा के बिराएँ, के हराएँजस्तो लाग्थ्यो कहिलेकाहिँ यसरी यो बाटो भएर आधा घण्टाको यात्रा तय गर्दा लाग्थ्यो, ‘कोही छैन मेरो यो बाटोमा संगै हिँडिदिने !’ आफैंसित कुरा गर्थें म । ठूलो कल्पनाको सागरमा डुबेर हिड्थेँ म त्यो बाटो । गाडी त्यति नचल्ने भएकाले त्यो बाटोमा म स्वतन्त्र भएर हिड्ने गर्थें । कुनै अदृश्य मान्छेलाई मैले यस्तै होओस् भन्ने सोच्थेँ मेरो जिन्दगीको बाटोमा ।

कक्षामा दुईचारवटा नाम चलेका जोडी थिए। एकजना साथी नै भए पनि अलि सिनियर जस्तो लाग्थ्यो । उसंग भने म हल्का मिल्थें र दाइ भनेर नै बोलाउथेँ । त्यस्तै अरु एक-दुई जोडी नि थिए । तर उनीहरुसँग भने हल्का-हल्का मात्र बोलचाल हुन्थ्यो, औपचारिकता मात्र ।

मलाई आफ्नै कक्षाकी एउटी केटी राम्रो लाग्न थालेको थियो । तर बानी उही पुरानै मेरो । केटीसंग बोल्दा घाँटीमा ठूलो ढुंगा अड्किएजस्तो लाग्थ्यो । केही केटा साथीहरुलाई थाहा पनि भएछ । मलाई त राम्री मात्र लाग्थ्यो । म कक्षा बाह्रमा आएको धेरैपछि मात्र उसको नाम थाहा भयो । तर आफैँले जिस्काउने त परै जाओस् नजिक भएमा साथीको नाताले बोल्न पनि सारै ठूलो सकस हुन्थ्यो मलाई । कहिले बोल्दा पनि बोलिनँ । त्यति ठूलो हल्ला कक्षामा चलेन किनकी मेरो मिल्ने सर्कलका साथीहरु बाहेक अरू कसैलाई थाहा भएन ।

साथीहरु कसैले पनि जिस्काउँदैनथे । म जस्तो मान्छेलाई जिस्काएर नि उनीहरुलाई मजा हुँदैनथ्यो । मैलेअनुरोध गर्थें साथीहरुलाई, ‘राम्री मात्र लागेको हो, उसलाई भनेको नि छैन, फेरी उसले नि मान्दिन होला !’ त्यसयता यस विषयमा साथीहरुसँग त्यतिसारो कुरा भएन यस विषयमा । सायद उसलाई नि केही थाहा छैन होला यस बारे । मैले मान्छेलाई उसका बोली र व्यवहारबाट पहिले नै आधा बुझिसक्थें । कुरा केही पनि मिल्दैन जस्तो लाग्थ्यो । उसले कक्षामा देखाउने बानी र व्यवहार देख्दा उसको र मेरो बीचमा कुनै ‘केमेष्ट्री’ नै मिल्दैन जस्तो लाग्यो । सोही कारण पनि त्यति ध्यान दिइनँ । ‘बेला-बेलामा साथीहरुले कुरा मिलाईदिउँ ?’ पनि भने । मैले जवाफ फर्काउथेँ, ‘भो छोडिदेऊ, ‘Girl Friend’ नै ‘Life Friend’ हुनुपर्छ भन्ने सोच भएको मान्छे हुँ म ।’ त्यसपछि कसैले यसबारे कुरा निकालेनन् ।

आजभोलि धेरैले गर्ने भन्ने ‘लभ’ मलाई चित्त बुझ्दैन । लभ एउटा फेसनजस्तै भएको छ । एकजनाको लभ छ भने त्यसको नजिकको साथीको पनि लभ हुनुपर्ने जस्तो सोच्छन् । अरुको अगाडि देखाउन केटीले ‘ब्वाईफ्रेन्ड’ र केटाले ‘गर्लफ्रेन्ड’ बनाउने चलन बढेको देख्छु । एकजनासंग लभ हुँदाहुँदै अन्त कुनै ठाउँमा पनि ब्वाइफ्रेण्ड/गर्लफ्रेण्ड बनाउने चलन छ । अचम्म लाग्छ, कस्तो खालको माया गर्छन कुन्नी !

न केटी आफ्नो ब्वाईफ्रेण्डप्रति समर्पित हुन्छिन्, न त केटा नै गर्लफ्रेन्डप्रति इमान्दार ! एकाध बाहेक धेरैको केवल औपचारिकता निभाएको जस्तो मात्र देख्छु म । ‘मुना – मदन’, ‘लैला- मजनू’ अनि ‘रोमियो – जुलियट’जस्तै प्रेमिल जोडीको अनुयायी हुँ म । क्षणभरमा बिलाई जाने माया लाउनुको के अर्थ ? दुबैले एक अर्काको मन दुखाउने मात्र हो । भविष्यका लागि चोट मात्र हो ।

अहिले माया अति सस्तो चिजजस्तै लाग्छ । साना-साना भाइ-बहिनीहरुले स्कूले जीवनमै ३/४ वटासंग सम्बन्ध जोड्ने र तोड्ने गरेका देख्न पाउँछौँ । घरमा एउटी श्रीमती हुँदाहुँदै पनि अर्काकी श्रीमतीतिर नजर लगाउने अनि नयाँ केटी नै गर्लफ्रेन्ड बनाउने चलनसमेत हावी छ । यो प्रवृत्ति शहरमा बेस्सरी मौलाएको छ भने ग्रामिण परिवेशमा सूचना प्रविधिले अझ छिटो प्रसार हुने मौका पाएको छ । खोई कस्तो तृप्ति चाहिएको हो मान्छेलाई ? एउटा-दुईटा छोराछोरी पाएपछि उसको अर्को रोजाई भर्खरकी केटी हेर्नु मै हुन्छ ।

यहाँ विषय एक नभएर अनेक छन् । वैदेशिक रोजगारी अर्को मुख्य कारण बनेको छ यो चलन चल्तीको ‘लभ’ को निमित्त । कैयौं युवा दाजुभाइहरु विभिन्न बाध्यताका बाबजुद् विदेशमा छन् । यता श्रीमती छोरा-छोरी पढाउने निहुँमा सहर झर्छिन् । छोराछोरी पढाउनै भनेर बुढाबुढी भएका सासु-ससुरा छोडेरै सहर लाग्छन् । दुईचार वर्षसम्म श्रीमानले विदेशबाट पठाएको पैसा सबै स्वाहा पारिदिन्छन् कथित ‘श्रीमती’हरुले ! छि ! त्यस्तालाई ‘आमा’ भनेको नि सुहाउँदैन । जहिले श्रीमान घर फर्किन्छन् त्यतिबेला न घरमा श्रीमती हुन्छिन् न त कमाएको सम्पत्ति हुन्छ । माया सबैभन्दा सस्तो चिज भएको छ भन्छन् । बजारमा तरकारीको भाउमा माया बेचिन्छ रे ! के माया शारीरिक संसर्गमा मात्र सिमित छ ?

चलनचल्तिको माया लाउनेहरु छन् जसलाई देख्दा उदेक मात्र लाग्छ । एउटासँग सम्बन्ध हुन्छ, अर्कोसँग पनि ठिक्क परिदिन्छन् मान्छे! शारीरिक सम्बन्ध वा भौतिक मिलन यी प्राणीहरुले लागि सबैभन्दा ठूलो माया हो भन्छन् । यिनीहरु यसैको लागि मात्र मायाको नाटक गर्छन् कि जस्तो लाग्छ । मुना र मदनको झट्ट सम्झना आउँछ । विचरी मुना भोट गएको मदनलाई त कुरेरै बसिन्, अन्तिम स्वाससम्म भलै गुण्डाहरुको नजर किन नलागेको होस् । आज आएर अचम्म लाग्दैछ, एउटा मदन नभए सयौं मदन खोज्न र भेट्न सकिन्छ यहाँ । परदेशिएको मदन पनि आफ्नी मुनालाई चटक्कै छोडिदिन्छन् । सायद उसको पनि मोडर्न मुनासंग चक्कर चल्न थाल्छ ।

कोही भने अचम्मको माया लाउँछन् । ज्यान जाला मायामा खाएको कसम तोड्दैनन् । त्यस्ता मान्छे अक्सर यो संसारभन्दा अलि परको छुट्टै संसारमा रमाउँछन् । कोही-कोही सडक वरपर भौँतारिएका देखिन्छन्, आफ्नो मायालाई खोज्न भनेर । यो संसारमा यी दुईथरी माया गर्नेहरु मात्र देखेको छु । मलाई किन-किन सयौं मुना वा सयौं मदन पाइन्छ भन्दै हिँड्ने मदन वा मुना भन्दा सडक पेटीमा आफ्नो मायाको खोजीमा भौँतारिएर हिँड्नेहरुनै मायाका सच्चा पुजारी हुन् जस्तो लाग्छ । यिनीहरुले आफ्नो जिन्दगी समेत भुलेर मायाको खोजीमा भौँतारिएका हुन्छन् । बिडम्बना ! यो संसारले जो सच्चा मायाको पुजारी हो, त्यसलाई नै पागल वा बौलाहा भन्ने ‘ट्याग’ भिराइदिन्छ ।

‘इन्टरनेट र प्रविधिले मायाको मौसम परिवर्तन गराएको छ । एउटा रेडियो कार्यक्रममा लेखक सुविन भट्टराईले भन्नु भएको थियो, ‘आजभोलिको मायामा फेसन सो मात्र हुन्छ । देखासिकीको माया लगाउने बढी प्रचलन बढेको छ । मायामा हुनुपर्ने आत्मीयता, एक अर्काको हेरचाह, सबै हराएको छ। आजभोलि माया मौसमी बनेको छ । जतिबेला पनि उपलब्ध हुने, अनि जतिबेला पनि समाप्त हुने ।’ सुविन भट्टराईले यसो भनिरहँदा म एउटा स्रोता थिएँ । हुन पनि यस्तै देखिएको छ आजभोलि । माया जतिबेला नि उपलब्ध हुने । प्रविधिको कुरा गर्दा टाढाका आत्मिक प्राणी भेट हुन पाउँछन् सकारात्मक पक्ष छ तर त्यो मान्छे कति कटिबद्ध छ भन्ने विश्वास गर्न नसकिने अवस्था नि हुन सक्छ । याने एउटासंग म्यासेजमा व्यस्त भइरहँदा अर्कासंग व्यस्त हुने जमात पनि धेरै हुन सक्छन् ।

मैले कहिलेकाहीँ यी कुराहरुमा गहिरिएर सोच्छु । चित्त बुझ्दैन । के सबै मान्छे यस्तै छन् त ? प्रश्न गर्छु, आफैँ सित । के संसार यस्तै मान्छेले भरिएको छ त ? यो पनि होईन होला जस्तो लाग्छ । अनि सुन्दर मन भएका मान्छे बाहिर ‘एक्स्पोज्ड’ किन हुँदैनन् त ? प्रश्न नै प्रश्नले भरिएको हुन्छ मेरो मन । अनि चित्त बुझाउँछु, आफैँलाई हरेक सुन्दर बस्तु प्राप्त गर्न निकै कठिनाइ हुन्छ । धेरै धैर्य गरेर प्राप्त गरेको चीजको मात्र मूल्य हुन्छ । खोज्दा उत्तिखेरै भेटिने बस्तुको मूल्य कम हुन्छजस्तो लाग्छ । त्यसैले पनि आजसम्म यस्तै कुरामा चित्त बुझाउँदै आएको छु ।

सन्तोष सागर
लमजुङ क्याम्पस, लमजुङ

४५२९ Total Views ३ Views Today

Comments