बिशेष सुरक्षा योजना लागू गरेको प्रहरीले यात्रु ठग्नेबिरुद्ध प्रहरी कारबाही, २ सय जनाको भाडा फिर्ता

Published: October 4, 2016 | 1:39 pm | मङ्लबार, अशोज १८, २०७३ | ५१५९ पटक पढिएको

police-anigaman

काठमाडौं । चाडबाडमा बिशेष सुरक्षा योजना लागू गरेको प्रहरीले दशैं मान्न काठमाडौं बाहिरिने यात्रुसँग मनमौजी भाडा उठाउने सवारीसाधनबिरुद्धको कारबाही तीव्र पारेको छ ।

उपत्यकाबाट बाहिर जाने यात्रुहरुसँग यातायात व्यवसायीले महँगो भाडा असुल्ने गरेको गुनासो बढेपछि मंगलबार काठमाडौं परिसर र विभिन्न बृतहरुबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न बसपार्कहरुमा अनुगमन गरेको छ ।

नागरिकको गुनासोका आधारमा गौशला, नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा पुगेको प्रहरी टोलीले बढी भाडा असुल गर्ने सवारीका कर्मचारीलाई कारबाही गरेको छ ।

काठमाडौं परिसरका एसएसपी बिक्रमसिंह थापाका अनुसार मंगलबारमात्रै काठमाडौंबाट बाहिरिने ५० भन्दा बढी यातायातलाई प्रअरीले कारबाही गरेको छ ।

बिहान घर जान भन्दै बसपार्क पुगेका यात्रुसँग बढी भाडा असुलेको गुनासोको आधारमा गांगबुस्थित नयाँ बसपार्क लगायत अन्य बसपार्कमा पुगेको प्रहरी टोलीले मंगलबार बिहान मात्रै दुइ सय ३२ जना यात्रुले तिरेको बढी भाडा फिर्ता गराएको छ ।

काठमाडौंबाट बाग्लुङ, अर्गाखाँची, कांकडभिट्टा, धनगडी, रुकुम, पोखरा लगायतका जिल्लाहरुमा जाने यातायातबाट बढी भाडा असुल गरेको भेटिएको प्रहरीले बताएको छ । व्यवसायीले ५० देखि ४ सयसम्म बढी भाडा लिइएको भेटिएको थियो ।

आफैं बसपार्कमा पुगे एसएसपी थापा

टिकटमा कालोबजारी भएको गुनासोपछि अनुगमन गर्न काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापा आफैं अनुगमनमा निस्कएका थिए ।

मंगलबार बिहानै बल्खु, गौशला, नयाँ बसपार्क तथा कलंकीका बसपार्क क्षेत्रमा पुगेका एसएसपी थापाले यातायात व्यवसायीलाई कडा चेतावनी दिएको बताए ।

एसएसपी थापाले कुरा गर्दै  भने ‘म आफैं बसपार्क पुगे नागरिकको गुनासो सुनेँ । मैले चेतावनी दिएको छु यदि कोही यात्रु ठगिएको भटिए तिनको दसैं तिहार हिसातमा वित्नेछ ।’

आजको अनुगमनमा बढी भाडा असुल गर्ने काठमाडौंबाट हेटौंडा चल्ने टाटासुमोका चालकलाई ठगीको मुद्धा चलाइएको एसएसपी थापाले बताए । टिकट नकाट्ने अनि बढी भाडा असुल गरेको गुनासो आएपछि ना १ ज २०३८ नंम्बरको टाटासुमोका चालक हरीशरण भुजेललाई ठगी मुद्धा चलाइएको उनले बताए ।

यतायातको दादागिरी रोक्न प्रहरीलाई जनता आफैंले सुचना दिनुपर्ने एसएसपी थापाले बताए । आफु ठगिएको सुचना प्रहरी दिए त्यस्तालाई कुनै पनि हालतमा नछोडिने उनले बताए ।

नागढुंगाबाट लागुऔषध बरामद

दशैं विषेश सुरक्षा योजना अनुसार चेकजाँच कडाइ गरेको प्रहरीले नागढुंगाबाट मंगलबार बिहान लागुऔषध बरामद गरेको छ ।

थानकोट बृतका डीएसपी कृष्ण पंगेनीका अनुसार विरगञ्जबाट आएको ना ५ ख ४६८४ नंम्बरको बसबाट तीन हजार एम्पुल नाट्रोजेपाम बरामद गरिएको हो ।

बसको डिक्कीमा राखेर ल्याइएको लागुऔषधसँगै पर्साका राजेश मुखिया पक्राउ परेका छन् ।

त्यस्तै लागुऔषध लिन कलंकी पुगेका गंगबुका निरन्जन मर्हजन पनि पक्राउ परेका छन् । त्यस्तै भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ७१९५ नंम्बरको बसबाट पनि २ सय १० एम्पुल डाइजेपाम सहित नवलपरासीका प्रदिपकुमार मल्ल पक्राउ परेका छन् ।

५१६० Total Views ३ Views Today

Comments