“जीवन र जोयाको कानुनीरुपमा विहे, मन नटुट्ने भए पछी सम्बन्ध पो कहाँ टुट्छ र ?”

Published: October 1, 2016 | 2:58 pm | शनिबार, अशोज १५, २०७३ | ३७४२ पटक पढिएको

अन्ततः जीवन र जोयाको फिलिपिन्समा विवाह भएको छ। हार्दिक बधाई तथा शुभकामना। छुटाएर पनि जुटेको यी जोडीको दाम्पत्य जीवन अब सुखद र खुसीसाथ बितोस र सुरुमा मिडियामा आएको खबरलाई आधार मानेर सामाजिक संजालमा आफ्नो धारणा जीवनप्रति आक्रोशपूर्ण रुपमा सार्वजनिक गरेको प्रति क्षमा चाहान्छु।
joya-3
 
 
 
फिलिपिनी नागरिक जोया र नेपाली नागरिक जीवनको फिलिपिन्सको एक कोर्टमा कानुनीरुपमा विबाह भएको छ। उनीहरुको प्रेम सम्बन्ध दुवैमा रोजगारको शिलशिलामा कार्यरत हुँदा भएको थियो। विवाह गरेर नेपाल आएका उनीहरुको दुइ छोराहरु निगेल र एरिक छन्।  कथित उद्दारको नाममा अगस्त १६ तारिख चितवनको  आदर्श गृहको पहलमा जोयालाइ फिलिपिन्स फर्काइएको थियो। भने नेपाल सरकारले अवैधानिक भएको भन्दै सात हजार डलर अर्थात् करिब नेपाली सात लाख रुपैयाँ जरीवाना समेत तिराएको थियो। उक्त रकम नेपालमा रहेको फिलिपिन्सको महावाणिज्यदूतले तिरिदिएको थियो रे!
 
joya2
 
चितवन आदर्श गृहको संचालिका मिना खरेल, नेपाली केहि मिडिया, प्रहरी प्रशासनको भनाई अनुसार जीवन लागूऔषध सेवन गरेर कुलतमा फसेको र जीवनले जोयालाई कुटपिट गर्ने गरेकोले सहन नसकी आदर्शगृहमा शरण पर्न गएको, जीवनले जोया र तिनका बच्चाहरूलाई खानसम्म नदिएकाले जोयाले सडकमा मागेर खानु परेको अवस्था भएकोले जोया बच्चा सहित आदर्शगृहमा शरण पर्न पुगेको बताएको थियो तर समय क्रम संगै यी कुराहरु भ्रामक र कपोकल्पित सावित भएको छ। आदर्शगृहले कथित उद्धारको नाममा एउटा सुन्दर घर भत्काउने प्रयास गरेको र त्यसमा नेपालको भ्रष्ट प्रशासनले काँध थापेको देखिएको छ भने नेपाली मुलधार लगायतको मिडियाहरुले एकतर्फीरुपमा खबरहरु प्रकाशित र प्रसारित गरेको थियो। जसले गर्दा म जस्ता धेरै नागरिकहरुले सामाजिक संजालमा जीवनलाई गालीगलौज गर्दै आफ्ना आक्रोशहरू पोखिए।joya
 
 
 
नेपालमै जन्मिएको दुइ छोराहरु भए पनि नेपालको प्रशासनले प्रमाणको अभावमा जोया र जीवनको विवाह दर्ता गरिदिएको थिएन। नेपाली नागरिक संग विवाह गरेर आएको र नेपालको हस्पिटलमा बच्चा जन्मिएको रेकर्ड भएको र दुइ छोराहरु साथमै हुँदा पनि थप अरु प्रमाण नेपाली प्रशासनलाई के चाहिन्थ्यो कुन्नि?
 
 
 
यी खबरहरु आए पछी सुरुमा एउटा अवोध विदेशी नागरिकलाई विवाह गरेर ल्याएपछि जीवनले यस्तो हर्कत गरेको भन्दै जीवन प्रति सामाजिक संजालमा तीव्र गालीगलौज वर्षीएको थियो। भने नेपाली सरकार र राज्यले पिडित जोयालाई न्याय दिन नसकेको र देशकै बेइजत गरेको भन्दै तीव्र आलोचना भएको थियो।
 
 
तर समय क्रम संगै वास्तविकता खुल्दै गयो वास्तवमा आदर्श गृह, प्रशासन र नेपाली मिडियाले भनेजस्तो सत्य नभएको र जीवन लागूऔषध लगायत कुनै पनि कुलतमा नफसेको र जोय र दुइ छोराहरुलाई खान नदिएर सडकमा बस्नुपर्ने, खान माग्दै हिड्नुपर्ने अवस्था सत्य नभएको पुष्टि हुँदै गयो।
 
 
 
यो समाचार संगै जीवनप्रति फेरी सामाजिक संजालमा धेरैले सहानुभूति देखाउनेहरुको ओइरो लाग्यो र उनीहरुको पुनर्मिलन गराउन भन्दै सहयोग अभियान पनि चल्यो।
 
 
 
जसले गर्दा आर्थिक अवस्था कम्जोर रहेको जीवनलाई फिलिपिन्स जान सहज भयो र उनि आफ्नो मामा कामे मगर संग आवुधावीमा भेट भएर सेप्टेम्बर१६ मा संगै पिलिपिन्स गएका थिए।
kame
केहि कागजी प्रक्रिया संगै उनीहरुको कानुनी विवाह सम्पन्न भएको छ। अब नेपालको सरकारले उनीहरुलाई नेपाली नागरिक बनाउन सक्छ या सक्दैन ?
 
 
यस संगै जन्मिएको केहि गम्भीर प्रश्नहरु छन् ।
१) कथित उद्धारको नाममा अर्काको सुद्नर घर भत्काउने चितवनको आदर्शगृह र त्यसको संचालिका मिना खरेलाई के कारबाही हुन्छ?
 
२) अर्काको व्यक्तिगत र पारिवारिक जीवनमा विभिन्न आरोप र चरित्र हत्या गर्ने गरि लान्छना लगाउने र छुट्टिन बाध्य बनाउनेलाई के कारबाही हुन्छ?
 
३)दुइ सन्तानको आमालाई अवैधानिक भन्दै जरिवाना तिराएर देश निकाला गर्ने राज्यको चरित्र के हो?
 
४) उक्त आदर्श गृहको मतियार बन्ने प्रशासनलाइ कसले कारबाही गर्छ? दुइ सन्तानको बाबुआमाको विवाह दर्ता र नागरिकता बनाउन अरु के प्रमाण चाहिन्थ्यो र चाहिन्छ?
 
५) एकतर्फी रुपमा सत्यतथ्य नबुझी भ्रामक समाचार फैल्याउने मिडियाहरुको नियत के हो? र तिनलाई के कारबाही हुन्छ?
६) ति मिडियाहरुले समयमै आदर्श गृह र मिना खरेलको यो कर्तुतहरु किन सार्वजनिक गरेनन् र अझै पनि मौन बसिरहेका छन्?
 
७) अब जीवनले सहजरुपमा फिलिपिन्सबाट उनको परिवारलाई लिएर आउन सहज छ कि छैन? भए कुन कारणले देश निकाला गरियो र नभए एउटा नागरिकले विदेशी नागरिकलाई विहे गरेर ल्याउन पाउने कि नपाउने? नपाउने भए संविधानको नागरिकता सम्बन्धि भाग २ को धारा ११ को उपधारा (६) “नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगिकृत नागरिकता प्राप्त गर्न सक्नेछ” भन्ने संवैधानिक व्यवस्था किन गरियो? र पाउने भए यो संवैधानिक व्यवस्था हुँदाहुँदै किन दुइ सन्तानको आमालाई अनागरिक घोषणा गरेर दुइ बच्चा सहित माइतीदेश जरिवाना तिराएर फर्काइयो?
 
अनेकन भ्रम र खेलहरुविच सत्यको जित भएको छ जीवन र जोयाको कहानी। यो युगमा सत्यको जित विरलै हुने गर्छ तर सत्यले एकदिन जित्छ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ। सत्यको जित गराउन विभिन्न सहयोगी मनहरुको मनले ठुलो भूमिका निर्वाह गरेको छ। टुटेको सिसाहरु त् जोडिन्न, तर अरुले टुटाएको सम्बन्ध जोडिएको छ, मन नचुड़े पछी सम्बन्ध पो कहाँ टुट्छ र ? जोया र जीवनको जीवनमा घटेको घटनाहरुले प्रमाणित गरिदिएकोछ। माया र प्रेमले जात अनि धर्म भन्दैन, देशी अनि विदेशी पनि भन्दैन जोया र जीवनको प्रेमले पनि यहि देखाएकोछ।
joya1
लेखक: डोलु  आले  मगर
३७४३ Total Views ३ Views Today

Comments