स‌ंघीय समाजवादीबाट आङकाजी बाहिरिए

Published: July 26, 2016 | 2:06 pm | मङ्लबार, साउन ११, २०७३ | ३५९ ९ पटक पढिएको

श्रावण ११, २०७३- संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पाले पार्टीबाट मंगलबार राजीनामा गरेका छन् । पार्टीका नेताले क्रियाशील कार्यकर्ताको मनोबल गिराउने नश्लवादी चिन्तन नहटेकाले राजीनामा गरेको उनले जनाएका छन् ।

‘पार्टी संगठन निर्माणको क्रममा क्रियाशीलताभन्दा नेताका प्रियशिलता, पार्टीबाट जिम्मेवारी बहनभन्दा व्यक्तिगत स्वार्थको दोहन गर्ने,’ पार्टीको केन्द्रीय सदस्य तथा प्रवाश इन्चार्ज रहेका शेर्पाले राजीनामापत्रमा भनेका छन्, ‘पहिचानको आन्दोलनहरुमा अहोरात्र आउनेलाई भन्दा ठूलाठूला नेताका घरघरमा धाउनेहरुले बढी अवसर पाएको र समावेशी प्रतिनिधित्वमा नश्लवाद तथा नातावाद हावी भएको परिप्रेक्षमा पार्टीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले केन्द्रीय सदस्य, नेफेसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा पेश गरेको छु ।’

‘पहिचान, संघीयता, धर्मनिपेक्ष, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नश्लवादी राज्यसत्ताको उत्पीडनमा परेका,’ नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव शेर्पाले राजीनामा पत्रमा भनेका छन्, ‘आदिवासी, मधेसी, शिल्पी, खस, मुस्लीमको पहिचान र अधिकारको लागि लड्ने अभियान्ता र अधिकारकर्मीको रूपमा तपाईहरूको साथमा रहनेछु ।’ शेर्पा २०६९ मंसिरमा गठन भएको संघीय समाजवादी पार्टीका संस्थापक सदस्यका रुपमा रहेका थिए । त्यसअघि उनी एमालेमा संवद्ध थिए ।

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेस फोरमबीच एकीकरणसँगै असन्तुष्टि पैदा भएको र सुधारका निम्ति पटकपटक केन्द्रीय नेतृत्वलाई सुझाउँदासमेत नसुध्रिएकाले पार्टीबाट राजीनामा दिएको उनले बताए । ‘पटकपटक नेतृत्वलाई आफ्नो कुरा राख्दै आइयो तर परिवर्तनको संकेत देखिएन,’ अब पार्टीप्रति गुनासो नरहेको उल्लेख गर्दै उनले कान्तिपुरसित भने, ‘यो हतासको निर्णय होइन । उत्कृष्ट पार्टी छोड्नु परेकोमा दु:ख लागेको छ । देशविदेशका कार्यकर्ताको दवावमा परेर नेताले आत्मालोचनासहित सुध्रिए अझैं पार्टीमा फर्किन सकिन्छ । नत्र सम्भव छैन ।’ शेर्पाले तत्काल अरु पार्टीमा नजानेसमेत बताए ।

 

३६०० Total Views ३ Views Today

Comments