कोरियामा साकेलाको चिण्डो, बाबु साइँला र लेप्मुहाङको डुङ्गा !

Published: June 30, 2016 | 12:45 pm | बिहिबार, असार १६, २०७३ | ६३८८ पटक पढिएको

Milan-Kanchha-kirati-1

मिलनकान्छा किराती

चर्को घाम, तातो बतास, सिनित्तै सफा-सडक ! मोटरहरुको व्यस्त आवत-जावत । सडक किनारमा उभिएर निधारको पसिना पुछ्दै ऊ ढाकाटोपी मिलाउँछ । देब्रे कुमले आइफोन च्यापेर कानको लोतीमा पुर्‍याउँछ । असीन-पसीन हुँदै दुई हातले दौराको तुना र फेर मिलाउँदै भन्छ, हाउ काँ पो ! ढिलो नगरुङ न, माथि डाँडामै भेटुङ है !

फोन राख्छ । ऊ सरासर सौल, दोङ्देमुनको ग्रीनपार्क डाँडातिर हानिन्छ । यल्जी विवश र म पनि उनको पदचाप समात्ने कोशिस गर्छौँ । तर, सक्दैनौं ।

Koera sakela

लखतरान थाक्यौँ- आधाबाटो उकालोमै थ्याच्चै बिसायौँ । हैट मार्छ कि क्या हो, के सारो चर्केको ! घामसँग गुनासो पोख्दै एक-एक फुच्चे बोत्तलको पानी रित्यायौँ । कस्तो बेतोडले थाकिएछ ! नेपथ्यबाट आवाज आइरहेछ-यस्तै ।

प्रायः धेरैजसो किराती साँस्कृतिक पहिरनमा सजिएका युवायुवतीहरु हाम्रो छेवैबाट यसो भन्दै उकालो उक्लिन्छन् -सोई सोईला हौ हुर्रा हा हा ! सोई ढोले सोई, अर्को ढोले खोई ?

निख्रिएको बर्गत थोरै भरिएको अनुभूति हुन्छ । हामी पनि हुलसँगै छिटो-छिटो अघि बढ्छौं । ज्यान-डाँडामुनिको भित्तोमा घिस्रन्छ, मन-माथि भञ्ज्याङ पुगेर पनि तीन फन्को साकेला नाचिसक्छ !

जून ५ तारिख दक्षिण कोरियाको राजधानी सौल, दोङ्देमुनस्थित ग्रीनपार्क डाँडामा यस्तै भयो । किराती महानचाड उभौलीको अवसरमा किरात राई यायोख्खा दक्षिण कोरियाले आयोजना गरेको साकेला उत्सव कार्यक्रम थियो-त्यो ।

Milan Kanchha kiratiभञ्ज्याङ पुग्यौँ । वातावरण नेपालमय थियो । साकेलामय थियो । नेपालमै बसेको अनुभूति भयो । खट्टाले भुईं हल्का खोस्रँदै यल्जी विवश भन्दै थिए, यो माटोमात्र हाम्रो परेन !

हामी विस्तारै भीडमा पस्यौँ । प्रायः सबैको गालामा किरात पहिचानको चिन्ह, सङ्केत, लोगोहरु देखियो । तीमध्ये मेरा आँखा हरेक युवायुवतीको गालामा फेसपेन्टिङ चिण्डोमा बढी पर्‍यो । म धेरै प्रभावित भएँ । त्यो साकेलामा तरुण-तरुणीको रातो स्याउजस्तो गालामा एक्कासी चिण्डो फलाउने को होला ! खोज्दै गएँ ।

गिरानको देब्रेतिर लस्करै लाइन देखियो । फेसपेन्टिङको लाइनमा पुगिएछ । म पनि लाइनमा बसेँ । पहिला यल्जी, त्यसपछि म । हामी दुबैजनाले गाला रङ्गायौँ । मेरा गालामा पनि चिण्डो फल्यो ।

किरातीहरुको जन्मदेखि मृत्युपर्यन्तसम्म चिण्डोको प्रयोग र यसको विशिष्ट महत्व छ । यसको सम्बन्ध किरात उत्पति, पितृ-पूर्खा र मुन्धुमसङ्ग जोडिएको छ । यसरी फेस पेन्टिङ गर्दै थिए-एक युवा । उनको नाम रहेछ-बाबु साइला । उनको नाम र काम दुवै प्रिय लाग्यो । थुप्रै मित्रजनसँग भेट भयो । साकेलामा नाचगानसँगै किराती खानाको परिकारको स्वाद सबैले चाख्यौँ ।

अनौठो अनुभूति ! कसैले हातमा एउटा किताप थमायो । आवरणमा लेखिएको थियो-लेप्मुहाङको डुङ्गा ! पराजित पोमुको कविताकृति । कवि श्रवण मुकारुङ भूमिका लेख्छन्- कविको धर्ती र आकाश बुझेपछि कविता बुझिन्छ । धर्ती सभ्यता-जीवनदर्शन, आकाश विश्वदृष्टि !

Koera sakela2

मुकारुङले भनेझै पोमुको कवितामा लिम्बु जातिको सभ्यता, संस्कृतिको प्रशस्त चिनारी थियो । कवि स्वप्निल स्मृतिले लेखेझैँ पोमुको कविताका ब्याड नेपाली साहित्यमा प्रचलित केही लेखनधाराकै खेत-खलिहान हुन् । तर, यसले उनलाई नेपाली कवितामा एउटा चिनारी दिन्छ नै, किनभने कवितामा परख गर्न उनीसँग प्रशस्त समय छ ।

लिम्बु जातिको मिथक लेप्मुहाङको डुङगाको चाखलाग्दो कथासँग जोडिएको कविताकृतिभित्र कवितामार्फत अभिव्यक्त हुन खोजेका पोमुका काव्यात्मक शिल्प पनि उत्तिकै चाखलाग्दा रहेछन् । भावनाको नाउँ खियाएर कविताको विम्ब र भाषाको भेलमा उर्लन सिक्दै गरेका उनको आभ्यासिक कृयाकलापले निरन्तरताको विनम्र निवेदन पेश गरेको देखिन्छ । मिथकीय प्रसङ्ग मानवजीवनको सकुशल अवतरण हो-लेप्मुहाङको डुङ्गा ।

६३८९ Total Views ६ Views Today

Comments