आईतबार सम्पन्न भलिबल प्रतियोगिताको उपाधी बाग्लुङ्गले चुम्यो !

Published: May 6, 2019 | 1:01 pm | सोमवार, बैशाख २३, २०७६ | २५०७ पटक पढिएको

भिजन नेपाल टिभी संवाददाता,सोल –

स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित पहिलो सिजनको मैत्रीपूर्ण भलिबल प्रतियोगिता चौथो स्याङ्जा कप २०१९ सौलमा आईतबार सम्पन्न भएको छ। “अनुशासन र स्वास्थ्यको लागि खेल, मनोरञ्जनका साथ प्रवासमा नेपालीको मेल ” भन्ने मूल नाराको साथ् आयोजित भलिबल प्रतियोगीतामा बाग्लुङ्गले जित हात पारेको हो। राजधानी सोलमा सम्पन्न भलिबल प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

 

 

पोल “ए” बाट क्वाटर फाईनलमा पर्वत समाजलाई , सेमीफाईनालमा सिहुङ्सी आनसान दक्षिण कोरियालाई पराजित गरि बाग्लुङ समाज फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै पोल “बी” बाट प्रिक्वार्टरफाईनलमा थर्ड आईज थेसुलाई,त्यस्तै क्वाटरफाईनलमा म्याग्दी मोनालाई र सेमीफाईनलमा विश्वकर्मा समाजलाई पराजित गरि स्यांग्जाले फाईनलको यात्रा तय गरेको थियो।

 

अत्यन्तै प्रतिस्पर्धात्मक फाईनल खेलमा आयोजक स्याङ्जा परिवार ए लाई १-२ सेटले पराजित गर्दै बाग्लुङ समाजले उपाधि चुम्न सफल भएको थियो। उपाधि संगै विजेता टिमले कप सहित,नगद १३ लाख वोन हात पार्न सफल भयो भने उपविजेता टिमले कपसहित नगद १० लाख वोन हात पार्न सफल भयो। यसैगरि सिहुङ्सी आनसान र विश्वकर्मा समाजले नगद ३ लाख ५० हजार वोनको दरले पुरस्कार हात पार्दै सान्तवना स्थानमा चित् बुझाउनुपरेको थियो ।

 

 

प्रतियोगिताको उत्कृष्ट खेलाडी बाग्लुङ समाजका जर्सी नं ४ का खेलाडी रमेश थापा घोषित हुनुभयो , उहाले नगद, कप र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा खेल सञ्चालनको लागि राष्ट्रिय रेफ्रि अमित रानाको संयोजकत्वमा राष्ट्रिय रेफ्रि श्रवण श्रेष्ठ, राष्ट्रिय रेफ्रि डिलु बिरकट्टा मगर, राष्ट्रिय रेफ्रि लोकेन्द्र भट्टचन र राष्ट्रिय रेफ्रि दिपक थापा रहनुभएको थियो।

 


आयोजक स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथी एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ रहनु भएको थियो । साथै नेपाल कोरिया भलिबल संघका संयोजक भजिन्द्र क्षेत्री र एनआरएनए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङको बिशेष आतिथ्यता संगै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

 

चौथो स्याङ्जा कप २०१९ लाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई आयोजक संस्थाले हार्दिक धन्यवाद ब्यक्त गरेको थियो । प्रतियोगिताको औपचारिक कार्यक्रम भने स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रिय सचिव भक्त थापाले सञ्चालन गर्नुभएको थियो ।

२५०८ Total Views ६ Views Today

Comments