श्रीलंका र बंगलादेशलाई पछि पार्दै अफगानिस्तान सिधै विश्वकपमा !

Published: January 2, 2019 | 7:50 am | बुधबार, पुस १८, २०७५ | ११२७ पटक पढिएको

एजेन्सी / टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै अफगानिस्तानले सन् २०२० मा हुने ट्वान्टी-२० विश्वकपको अन्तिम चरणमा स्थान पक्का गरेको छ । सन् २०१८ को अन्तिम टी-२० वरियतामा अफगानिस्तान शीर्ष ८ मा अटाएपछि टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएको हो । नवौं स्थानमा रहेको श्रीलंका र दशौँ स्थानको बंगलादेशले भने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

अफगानिस्तान पहिलो पटक छनोट चरणमा नाखेल्दै विश्वकपका लागि छनोट भएको हो । सन् २०१८ मा खेलेका ७ मध्ये ७ नै खेलमा जित हात पारेपछि वरियतामा सुधार आएको हो । अफगानिस्तानले यस क्रममा बंगलादेशमाथि ३-० को व्हाइटवास पनि गरेको थियो । वरियताअंकमा अफगानिस्तानले श्रीलंकालाई ५ अंक र बंगलादेशलाई १५ अंकले पछाडी पारेको हो ।

अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा छनोटको फाइनलमा आएरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । सन् २०१२ मा पनि छनोट भएको अफगानिस्तान सन् २०१४ मा भने छनोटमा बंगलादेश र नेपालभन्दा तल रहेको थियो । सन् २०१६ मा पनि अफगानिस्तानले वेस्ट इन्डिजलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । सन् २०२० को प्रतियोगितामा अफगानिस्तान सिधै छनोट हुँदा जिम्बाब्वे र आएरल्यान्डले भने ग्लोबल क्वालिफायर खेल्नेछन् ।

ग्लोबल क्वालिफायरमा सन् २०१६ को प्रदर्शनलाई आधार मानेर ४ एसोसिएट राष्ट्रलाई सिधै स्थान दिइएको छ । स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले ग्लोबल क्वालिफायरमा स्थान बनाएका छन् । अब क्षेत्रीय छनोटबाट ८ टोलीले यस ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् । कुल १४ टोली सहभागी रहने ग्लोबल क्वालिफायरबाट शीर्ष ६ टोलीले अष्ट्रेलियामा हुने पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग खेल्नेछन् ।

११२८ Total Views ३ Views Today

Comments