सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन कष्टकर

Published: December 14, 2018 | 5:47 am | शुक्रबार, मंसिर २८, २०७५ | १०६४ पटक पढिएको

मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लामा हिमपात भएको छ।

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। दशरथचन्द राजमार्गअन्तर्गत अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा बिहीबार हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ।

दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए। उनले भने, ‘दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ।’

डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए।

उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ। वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै स्थानी किसान खुसी भएका छन्।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन्। बुधबारदेखि एक्कासि मौसम बदली भई पानी परेपछि बिहीबार हिमपात सुरु भएको हो।

लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पु¥याएको छ। लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीले बताए।

१०६५ Total Views ६ Views Today

Comments