प्रचण्डले ल्याए द्वन्द्व पीडितका लागि न्यायसहितको प्याकेज

Published: November 21, 2018 | 9:33 am | बुधबार, मंसिर ५, २०७५ | २२४६ पटक पढिएको

चितवन, ५ मंसिर – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने बताएका छन् ।द्वन्द्व पीडितका लागि न्यायसहितको प्याकेजले सम्बोधन हुने प्रचण्डको भनाई छ ।

बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दाहालले शान्ति प्रक्रिया पूरा गर्ने गृहकार्य भएको बताए ।

‘राजनैतिक तथा कानुनी तहमा गम्भीररुपमा गृहकार्य भइरहेको छ’, प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघमा दिनुभएको सम्बोधनले पनि प्रधानमन्त्रीको चाहना त्यही देखिएको छ ।’

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, ‘द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहेका दाहालले थपे ‘प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।’

भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उनले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताए । उनले भने, ‘भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।’

२२४७ Total Views ३ Views Today

Comments